चाडपर्व सकिएसँगै रोजगारीका लागि भारत फर्किनेको लर्को
डडेल्धुरा, कात्तिक १३ । दसैं आउनुअघि कैलाली र कञ्चनपुरका सिमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किनेको चहलपहल थियो। भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली तथा तराईका सहरमा काम र अध्ययनका लागि बसेकाहरू चाडपर्व मनाउन गाउँ फर्किरहेका थिए।
वर्षभरि रोजगारीका लागि घरबाहिर रहेकाहरू गाउँ पुगेपछि पहाडी बस्तीमा दसैंको रौनक थपिएको थियो। तर, अहिले भने दृश्य फेरिएको छ। दसैंको टीका लगाएपछि उनीहरू फेरि रोजगारीकै लागि भारतका विभिन्न सहरतर्फ फर्किन थालेका छन्।
डडेल्धुरा बसपार्कमा पछिल्ला दिनमा भारत जाने यात्रुको चहलपहल बढेको छ। परिवारसँग चाडपर्व मनाएर केही दिनको बसाइपछि उनीहरू पुनः आफ्नो कर्मथलोतर्फ लाग्न थालेका हुन्।
भारतका बैंग्लोर, चेन्नई, दिल्ली र मुम्बईलगायत सहर सुदूरपश्चिमका धेरै नेपालीका लागि रोजगारीको गन्तव्य बनेका छन्। कोही निर्माण क्षेत्रमा काम गर्छन् भने कोही होटल तथा अन्य श्रममूलक पेसामा आबद्ध छन्। वर्षभरि ती सहरमा काम गरेर परिवारको खर्च जुटाउने उनीहरू खेतीपातीको समय र चाडपर्वमा भने गाउँ फर्किने गर्छन्। दसैं, तिहार र खेतीपातीको कामलाई घर आउने अवसर बनाउने तथा त्यसपछि पुनः रोजगारीमा फर्किने क्रम धेरै परिवारको नियमित जीवनशैलीजस्तै बनेको छ।
भागेश्वर गाउँपालिका–४ की लक्ष्मीदेवी भाटका अनुसार रोजगारी र बसाइँसराइका कारण गाउँका धेरै घरमा वर्षभरि चहलपहल हुँदैन। दसैं–तिहार र खेतीपातीका बेला भारत तथा अन्य ठाउँबाट घर फर्किनेहरूका कारण गाउँमा केही समय रौनक थपिने गरेको छ। तर, चाडपर्व सकिएपछि उनीहरू फेरि आ–आफ्नो कर्मथलो फर्किँदा बस्ती सुनसान बन्ने गरेको उनले बताइन्।
गन्यापधुरा गाउँपालिका–१ का खेम भट्ट पनि दसैं मनाएर चेन्नई फर्किएका छन्। आठ–दस वर्षदेखि भारतका विभिन्न क्षेत्रमा काम गर्दै आएका उनी समय मिलाएर चाडपर्वमा घर आउने गर्छन्। यसपटक पनि दसैं मनाउन गाउँ आएका उनी टीका सकेर रोजगारीका लागि चेन्नई फर्किएका हुन्। नजिकिँदै गरेको तिहारसम्म घरमै बस्ने चाहना भए पनि रोजीरोटीका लागि पुनः काममा फर्किनुपरेको उनले बताए।
अमरगढी नगरपालिका–८ की सावित्री नेपाली पनि श्रीमानसँगै बैंग्लोरमा काम गर्दै आएकी छिन्। उनीहरू दसैं मनाउन घर आएका थिए। परिवारसँग चाडपर्व मनाएपछि सावित्री पनि टीका सकेर श्रीमानसँगै बैंग्लोर फर्किएकी छिन्।
अमरगढी नगरपालिका–६ की गोविन्दा ताम्राकारका अनुसार खेतीपाती भित्र्याउने समय र चाडपर्वमा परदेश गएका दाजुभाइ घर फर्किँदा गाउँघर उल्लासमय हुने गरेको छ। लामो समय घरबाहिर रहेका परिवारका सदस्य फर्किएपछि गाउँमा भेटघाट र चहलपहल बढ्छ। तर, दसैं सकिएपछि उनीहरू फेरि परदेश फर्किँदा गाउँ उस्तै सुनसान बन्ने गरेको उनले बताइन्। गाउँमा बसाइँसराइ र रोजगारीका कारण पहिलेको जस्तो स्थायी चहलपहल नरहेको उनको अनुभव छ।
चालक पदम भट्टका अनुसार दसैं आउनुअघि कैलाली र कञ्चनपुरबाट डडेल्धुरालगायत पहाडी जिल्लामा आउने यात्रुको चाप बढी हुने गरे पनि अहिले त्यसको ठीक उल्टो अवस्था छ। तराईबाट पहाड आउने यात्रु निकै न्यून छन् भने पहाडबाट तराई जाने यात्रु बढी छन्।
सुदूरपश्चिमका पहाडी जिल्लामा भारत रोजगारीको पुरानो गन्तव्य हो। विशेषगरी डडेल्धुरासहित बैतडी, डोटी, अछाम, बझाङ र बाजुराका धेरै परिवारका सदस्य रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेका छन्। घरपरिवारको खर्च, बालबालिकाको पढाइ र दैनिक आवश्यकता पूरा गर्न उनीहरूले भारतमा गर्ने श्रमबाट प्राप्त आम्दानीमा भर पर्नुपर्ने अवस्था छ।
अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने
काठमाण्डौ, कात्तिक १३ । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली २०८३
देशका पूर्व र मध्य भेगमा वर्षा र हिमपात, आज अझै ठूलो पानी पर्ने
काठमाण्डौ, कात्तिक १३ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी
नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात



.jpeg)







प्रतिकृया दिनुहोस