सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न 

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि एकदिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सिकाइ केन्द्रको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा शैक्षिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपाल पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को तथ्यांकमा जिल्लाभर ४८ जना बालबालिका मात्रै विद्यालयबाहिर रहेका छन् । परशुराम नगरपालिकामा मात्रै १८६ बालबालिका विद्यालयबाहिर रहेको विवरण सार्वजनिक भएपछि तथ्यांकमा देखिएको फरकबारे यकिन गर्न आवश्यक देखिएको छ । यसका लागि विद्यालयबाहिर रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी तथ्यांक अद्यावधिक गर्नुपर्ने देखिन्छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका निमित्त प्रमुख केशव जोशीले सामुदायिक सिकाइ केन्द्रलाई समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सिकाइ केन्द्रमार्फत निरन्तर सिकाइ, साक्षरता प्रवद्र्धन तथा समुदायको शैक्षिक विकासमा योगदान पु¥याउन पदाधिकारीहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारले सामुदायिक सिकाइ केन्द्रलाई प्राथमिकतामा नराखेको बताउनुभयो । विगतमा सिकाइ केन्द्रहरूले आयआर्जन, विकास निर्माण र सामुदायिक रूपान्तरणमा समेत योगदान पु¥याएको उल्लेख गर्दै उहाँले केन्द्रको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विसं २०८६ पछि कक्षा ८ उत्तीर्ण नगरेका नागरिकलाई सरकारी सेवाबाट वञ्चित गर्ने व्यवस्था ल्याउन लागिएको उल्लेख गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सबै पक्षले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । सिकाइ केन्द्रहरूले विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, अभिभावकमा सचेतना अभिवृद्धि र विद्यालय भर्नाका लागि सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

अमरगढी नगरपालिका–१० की परिचालक मनकामना साउदले आफूले वडा कार्यालयमा काम गर्नुपर्ने र सचिव नभएको अवस्थामा सचिवको जिम्मेवारीसमेत सम्हाल्नुपरेको गुनासो गर्नुभयो । उहाँसहित अन्य परिचालकहरूले कार्यक्षेत्रअनुसारको जिम्मेवारी निर्धारण, उचित पारिश्रमिक, आफ्नै कार्यालय, नियमित बजेट तथा डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्न आवश्यक तालिम र उपकरणको व्यवस्था गर्न माग गरेका छन् ।

यसैबीच, गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम सामुदायिक सिकाइ केन्द्रले स्थानीय भाषाको पुस्तक प्रकाशन, देउसीभैलो परम्पराको संरक्षण तथा पुराना कृषि औजार, भेषभूषा र सांस्कृतिक सामग्री संकलन गरी संग्रहालयको स्वरूपमा विकास गर्ने काम गरेको जनाएको छ ।

सामुदायिक सिकाइ केन्द्रहरूले शिक्षा, सीप विकास, संस्कृति संरक्षण र समुदायको रूपान्तरणमा योगदान पु¥याउँदै आएका भए पनि आवश्यक बजेट, जनशक्ति र स्रोतसाधनको अभावले अपेक्षित रूपमा काम गर्न नसकेको परिचालकहरूको गुनासो छ । विद्यालयबाहिर रहेका बालबालिकाको वास्तविक संख्या पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउन तथा सिकाइ केन्द्रलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमकै पहिलो आकाशे पुलको फाउण्डेसन तयार

अत्तरिया, कात्तिक ६ । कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया धनगढी ६ लेन सडकमा सुदूरपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । बढ्दो

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट

शैक्षिक योजना, IEMIS र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

डडेल्धुरा : शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा कर्मचारीका लागि शैक्षिक योजना, कार्यक्रम

↑