बझाङको थलारामा बहुप्रकोप पूर्वसूचना प्रणाली जडान

बझाङ, साउन २३। बाढी, पहिरो, डुबानलगायतका विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न बझाङको थलारा गाउँपालिकाले सेती नदीमा बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ जडान गरेको छ । विपद्को उच्च जोखिममा रहेको थलाराले जडान गरेको यो प्रणालीले कुनै पनि दुर्घटना हुनु पूर्व सम्भावित जोखिमबारे स्थानीयलाई सूचित गर्ने र विपद्को जोखिमबाट बचाउने अपेक्षा गरिएको छ । 

थलारा गाउँपालिकाले पिपुल इन निड संस्थाको आर्थिक सहयोग लिएर यो विपद् पूर्वसूचना प्रणाली वडा–९ झ्यााबगरस्थित सेती नदी किनारमा जडान गरेको हो । यो गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेको छ ।  इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले नेपालमै विकसित गरेको यो बहुप्रकोप पूर्वसूचना प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायतका विपद्को जोखिमबारे समुदायलाई समयमै चेतावनी दिन सक्ने जनाइएको छ ।

प्राविधिक अनुज खनालका अनुसार प्रणालीमा बाढी तथा अन्य जोखिमको अवस्था मापन गर्ने सेन्सर जडान गरिएको छ । सेन्सरबाट प्राप्त वास्तविक समय (रियल टाइम)  सूचनाका आधारमा जोखिमको अवस्था पहिचान गरी आवश्यक परे साइरन आफैं बज्ने व्यवस्था छ । उनका अनुसार यस प्रणालीबाट एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोल मार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ । स्थानीयलाई सहज रूपमा बुझाउन विभिन्न स्थानीय भाषामा पूर्वरेकर्ड गरिएका तथा प्रत्यक्ष आवाज सन्देश (भ्वाइस मेसेज) समेत प्रसारण गर्न सकिने व्यवस्था छ ।

ठूलो बाढी वा अत्यधिक वर्षा हुँदा सेन्सरले जोखिमको अवस्था पहिचान गरेपछि प्रणालीले स्वचालित रूपमा साइरन बजाएर आसपासका बस्तीलाई सतर्क गराउन सक्छ । यसले विशेषगरी रातको समयमा वा मानिसलाई विपद्को संकेत तत्काल थाहा नहुने अवस्थामा उपयोगी हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार थलारा गाउँपालिका विपद्को उच्च जोखिममा छ । गत वर्ष प्राधिकरणले गरेको अध्ययनले बझाङको थलारा र केदारस्यूँ गाउँपालिकाका ६० वटा गाउँ पहिरो रहेको र पहिरोका कारण यहाँका १९०० परिवार उच्च जोखिममा रहेको पाएको थियो । पहिरोबाहेक यी दुई गाउँपालिकाका नदी तटमा रहेका थुप्रै गाउँ बाढीको पनि उच्च जोखिममा छन् । २०५८ सालयता आएका बाढीले निरन्तर कटान गर्दा यी दुई पालिकाका १६ वटा भन्दा बढी बस्ती जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ । 

प्रतिकृया दिनुहोस

अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे 

धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

↑